दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् »

- नरेन्द्रराज प्रसाई

नेपाली भाषासाहित्यका तीन जना विभूतिलाई त्रिमूर्ति भनिन्छ । अनि ती त्रिमूर्ति हुन्- कविशिरोमणि लेखनाथ पौडयाल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा । यी तीन जनालाई त्रिरत्न' अथवा भनौं नेपाली भाषासाहित्यका महारथीहरू (सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधानले नै एउटै माला उनेर त्रिमूर्तिको नाउँबाट सम्मान गरेका थिए।

नेपाली भाषासाहित्यमा सूधपा त्रिरत्नका नाउँमा दार्जीलिङमा स्थापित भएको थियो । साथै नेपालबाट संवत् २००९ सालमा दार्जिलिङ पुगेकै बेला त्रिमूर्ति अथवा भनौं लेखनाथ, सम र देवकोटालाई सर्वप्रथम त्रिरत्नले नै सम्मान गरेका थिए । साहित्यको एउटा त्रिमूर्तिले अर्को त्रिमूर्तिलाई यसरी सम्मान गरेको पनि नेपाली भाषासाहित्यको इतिहासमा यो नै पहिलोचोटि थियो ।

'त्रिमूर्ति' 'त्रिरत्न'को मञ्चको विशिष्ट र अनुकरणीय लहरो समाउँदै त्यसपछि फेरि तीनै जना स्रष्टाको एउटा सशक्त समूह तयार भयो । इन्द्रबहादुर राई, वैरागी काइँला ईश्वरवल्लभले 'तेस्रो आयाम'का नाउँमा अर्को मञ्च स्थापना गरे । त्यस बेला तेस्रो आयमको नेतृत्वले दार्जीलिङक्षेत्र बेग्लै रौनकमा रङ्गिएको थियो । त्यसैले इन्द्रबहादुर राई, बैरागी काइँला ईश्वरवल्लभलाई 'तेस्रो आयाम'का प्रवर्तक भनेर सगौरव सम्बोधन गरियो ।

यसै रीतले नेपाली भाषासाहित्यमा प्रेमराजेश्वरी, गोमा र पारिजातको एउटा सशक्त समूहलाई 'त्रिनारीरत्न'का रूपमा मोदनाथ प्रश्रित, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईद्वारा जनसमक्ष ल्याइयो । यसरी नेपाली साहित्याकाशमा त्रिमूर्ति, त्रिरत्न, तेस्रो आयाम र त्रिनारीरत्नको बेग्लाबेग्लै अस्तित्व निर्माण भएको छ ।

अत्यन्तै बलियो, चिरस्थायी र लोकप्रिय ढङ्गबाट चारवटा ठुलाठुला चौतारीमा बाह्र जना साहित्यकारहरूको मौलिक स्तम्भ क्रमशः तयार भयो । यो चार ओटा स्तम्भमध्ये त्रिरत्न अथवा भनौं सूधपा वनारस र दार्जिलङकिो सेरोफेरोमा नै आबद्ध भयो, त्यहीं मौलायो र त्यहीं झाङ्गियो । साथै यो संस्थाको सुभाष नेपालका डाँडापाखा पनि आइपुग्यो । सूधपको खास जरा, हाँगा र पातहरू जति र जहाँ फैलिए तापनि यो भारतमा नै बेस्सरी मौलायो । वास्तवमा त्यहीं नै यिनीहरूले प्रसिद्धिको आकाश निर्माण गरेका थिए ।

सूधपा भन्ने एउटै शब्दको हार सन् १९४९ मा आविष्कार भएको थियो। त्यस बेला रूपनारायणसिंह 'भारती'का प्रधानसम्पादक थिए । साथै त्यस पत्रिकाका सम्पादक चाहिं पारसमणि प्रधान थिए । सो पत्रिकाको वर्ष एक, सङ्ख्या दुईमा सूधपा उदाएका थिए । भनौं पारसमणि प्रधानले सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधान एउटा पाखामा थकाई मारेर बसेको समयको फोटोसहित एउटा कवतिा समेत लेखेका थिए-

हाँस्तछन् सकललाई हँसाई
को हुनन् ? चिन र लेख मलाई
हेर खोज अनि नाउँ बताऊ
सू-ध-पा-इनँ भनी नलजाऊ !

त्रिरत्न अथवा सूधपाले भारतमा नेपाली भाषासाहित्यको विकास, प्रवर्धन र विस्तारका लागि अनेक गर्‍यो । वास्तवमा यी तीनजना नभए भारतमा आजको भाषिक र साहित्यिक जागरण यस प्रकारले वृहत्, ओजस्वी र गरिमामाय ढङ्गबाट मौलाउनै सक्तैनथ्यो । भारतका चाहे शैक्षिक प्रतिष्ठानहरूमा नेपाली भाषाको पढाई गरेर होस्, चाहे नेपाली भाषाबारेका सङ्घसंस्थाको स्थापना गरेर होस् र चाहे साहित्यिक सभासमारोहहरूको आयोजना गरेर होस् यी सबै कृत्यहरू गर्ने र गराउनेमा गुरुत्तर भूमिका खेल्ने नै सूधपा थिए । त्यतिमात्र नभएर धेरैलाई लेखाउने र किताप छापिदिने काम समेत यही संस्थाले पनि गरिदिएको थियो । उनीहरूले नेपाली भाषालाई शिखर आरोहण गराउने हेतु अनेक गरे । उनीहरूले नेपाली भाषा र साहित्यका लागि हरेक पल्ट आआफ्ना बौद्धिक कला रोपिरहे । वास्तवमा यी तीनै जना आआफ्ना क्षेत्रमा आआफ्नै सीपले पूर्ण थिए । यिनीहरू आफै लेख्थे, आफै भाषण गर्थे र आफै सङ्घसङ्गठनको स्थापना गर्थे ।

सूधपाको लगन, जोश र समर्पणका कारणले नै २००६ साल असार ४ गते भारतको दार्जिलिङमा आदिकवि भानुभक्त आचार्यको सालिकसमेत निर्माण भएको थियो । भरतीय नेपाली भाषा साहित्यका महारथी नरबहादुर दाहालका अनुसार पश्चिम बङ्गालका राज्यपाल कैलाशनाथ काटजुबाट भानुभक्तको सालीक अनावरण गरिने कार्यक्रम किटान भएको थियो । तर उनी अचानक अस्वस्थ भएर समारोहमा उपस्थित हुन सकेनन् । अनि उनको प्रतिनिधित्व गरेर उनकी पुत्रवधूले उक्त सालिकको उद्घाटन गरेकी थिइन् । त्यस बेला राज्यपाल कैलाशनाथले आफ्नी बुहारी हस्ते आदिकवि भानुभक्त आचार्यको सालीक उद्घाटन समारोहका लागि सन्देश पठाएका थिए । पश्चिम बङ्गालका राज्यपालबाट उक्त सन्देशमा लेखिएको थियो- 'भानुभक्त नेपालका मात्र कवि होइनन् उनी हाम्रो महान् भारतका पनि कवि हुन् ।'

त्यस कालखण्डमा नेपाली भाषाका नेपाली कविलाई भारतले त्यसरी ससम्मान प्रस्तुत गरिंदिदा नेपाली भाषाको इज्जवतमा बढोत्तरी भएको मानिन्थ्यो र यो सानो कुरा पनि थिएन ।

दार्जिलिङमा भानुभक्तको सालिक बनाउनुअघिसम्म पनि नेपालमा भानुभक्तको सालिक बनाउने कुनै योजना नै थिएन । त्यतिमात्र होइन भारतमा भानु जयन्ती मनाउने परम्पराको थालनी भएपछि मात्र नेपालमा पनि भानु जयन्ती मनाउन थालिएको थियो । वास्तवमा नेपालमा आदिकवि भानुभक्त आचार्यबारेको औपचारिक कार्यक्रमहरू गर्नका लागि भारतका सुधपा नै गुरू थिए ।

भारतमा नेपाली भाषासाहित्यको विस्तार गराउने श्रेय सूधपालाई नै जान्छ । वास्तवमा यिनीहरूकै सक्रियता, पहल र नेतृत्वमा भारतको सिक्किम, दार्जिलिङ, असम राज्य र त्यसको सेरोफेरो अनि त्यही परिवेशका अन्य ठाउँहरूमा चाडका रूपमा भानु जयन्ती मनाउने र त्यस दिन ती ठाउँमा बिदा दिने चलन पनि यिनीहरूकै कारणले चलेको थियो । यसरी भारतमा नेपाली भाषा र साहित्यको इज्जत बढाउने काममा सूधपाको नै महत्त्वपूर्ण भूमिका रहिआएको छ ।

त्रिरत्नको जीवनभरको तपस्याका कारण त्यस ठाउँमा नेपाली भाषा र साहित्यप्रति अत्यन्तै गर्व मानिने परिपाटिको मात्र विकास भएन अन्तत: भारतका राष्ट्रिय भाषाहरूमा नेपाली भाषाले पनि संवैधानिक मान्यता पाएको थियो । नेपाली भाषाका त्यस्ता वीर महापुरूषहरूको योगदान नेपाली भाषा साहित्यको इतिहासले स्वार्णाङ्कित गरिरहेको छ ।

Trouble listening? Try from alternative players
Advertisement