आमाप्रतिको आदर ः आभा मुकारुङ »

–    अनुज कुलुङ
कुरा भावुकपनको हो । जब वेदनाले पेल्दै जीवनको नदेखिने अंगहरुमा घोच्दछ । तब आँखाहरु त्यसै त्यसै रसाउँदै जान्छ । अनि निक्लन्छ बर्बरताको आँसुहरु । जति जति घोचिदै जान्छ उत्ति उत्ति बगिरहन्छ । सिर्फ बगिरहन्छ ।

ब्यक्तिगत रुपमा स्वभावैले म अति नै भावुक छु । संभवत छोरा मान्छेहरु सायदै यतिसम्म भावुक हुन सक्छन् । साथीभाईहरु भन्छन् कि छोरा मान्छे भएर यति धेरै भावुक हुनु, आँसु झार्नु त्यति राम्रो होइन । मैले कोशिष नगरेको पनि होइन गरेकै हो । यस्तै यस्तै भो केहि दिन अघि मलाई ।

दैनिकी ब्यस्तताको जिवन र थकाईको भारले शनिवारको दिन म फुर्सदमा इन्टरनेटको सवारीमा युट्युबको बस्तितिर घुम्न निस्के । एउटा शुन्य संसारको बाताबरणमा । म घुम्दै जादा केहि दिनअघि फेसबुक बस्तीतिर गायिका आभा मुकारुङको घरतिर आमा नामक गीतको हल्लाहरु सुनेको थिए । कौतुहलता जागिरहेको थियो कि लामो समय पछि उहाँले कस्तो गीत निकाल्नु भएछ भन्ने ।
समय मिलिरहेको थिएन । उहाँको त्यो गीत हेर्न युट्युतिरै जानुपर्ने । मसँग त्यहाँसम्म जाने अवस्था थिएन । अनि फर्सद पनि । तर शनिबार जब म जब बस्तीमा आएर त्यो गीत खोजे, गीत फेला पारे । जब गीतको चाबी खोलेर भित्र पसे । म गीतसँग भित्रि तहसम्म पुग्न थाले ।

सचिन सिंको बाजाहरुको समायोजनले उत्तिकै मोहित तुल्यायो । म आफै पनि चकित हुदै थिए कि आभा मुकारुङको भित्रि कला अरु पनि रहेछ । जुन आजसम्म पनि दर्शक श्रोताहरुले भेउ पाउन सकिरहेको थिएन । त्यो हो गीतहरुमा धुनहरु खोजेर गीतलाई स्वरमार्फत दौडाउन । हिजोसम्म अरुले धुन खोजेर । उनले त्यो गीतलाई दौडाइरहेका थिए । तर आज यति मिठो संगीत आफैले दिएर मलाई चकित तुल्याए ।

स्वरमा त केहि भन्नु छैन ।

नरदेबी राई जो आभा मुकारुङलाई जन्म दिएकी एक महत्वपूर्ण ब्यक्ति हुनुहुन्छ । महत्वपूर्ण यो अर्थमा जसले आभालाई जन्म दिएर नेपाली संगीतको उद्योगको भारी बोक्न सबल र सक्षम रहे । अर्को अर्थमा उहाँ साहित्य संगीतदेखि निकै नै नजिक रहनुहुन्छ । लेखन क्षमता कतिको छ भन्ने कुरा उहाँको संस्मरण संग्रह नेपथ्यको कुरा पढेपछि थाहा हुन्छ । आज उहाँले लेख्नुभएको गीत आमा कति मार्मिक । म यो भावनामा ब्यक्त गर्न सकिरहेको छुइन ।

पानीझै सङलो आकासझै अग्लो
ऐना झै सफा मन मेरी आमाको
आमा आमा आमा


झट्ट शब्द हेर्ने हो भने कति सरल छ । तर त्यो सरलतामा आमाको महत्व गहन तरिकाले प्रस्तुत गरिएको छ । आमाको मन बुझ्नेहरुले यो शब्दहरुमा आफ्नोपन भेट्दछ । तर अफसोच ति ब्यक्तिहरुको निम्ति छ जसले सङलो आमाहरुको मनमा दुर्गन्ध मिसाउनेहरुले कसरी थाहा पाउनु यस्तो मार्मिकताको गहन कुरा ।

तिम्रो काख मेरो पहिलो पाठशाला
तिम्रो न्यानो माया मलाई हौशला
म तिम्रो श्रृष्टि मै तिम्रो सपना
लडे फेरी उठ्न दिन्छौ सहारा
आमा आमा आमा


यो हरफहरुले साच्चिकै हाम्रो जन्मपछि तत्काल हुने आमाको संघर्ष, पीडादायी भावहरुको महशुष म गर्छु । साच्चिकै आमाको पेटमा हुर्काउनु, बडो पीडादायी अवस्थामा जन्म दिनु, अनि फेरि जन्म दिइसके पछि फेरि काखहरुमा हुर्काउनु अति संघर्षको कुरा हो । उहाँले बोल्न सिकाउनुहुन्छ, हिड्न सिकाउनुहुन्छ, हास्न सिकाउनुहुन्छ । र नै त भनियौ आमाको काख पहिलो पाठशाला हो भनेर । आमाको प्यार र माया बिना अघि बढ्न निकै गाह्रो कुरा हो ।

मेरो पीडामा तिमीलाई दुख्छ
मेरो खुशीमा मन तिम्रो नाच्छ

यो हरफहरुमा पनि आमाहरुको गुण कस्तो रहन्छ भन्ने कुरा सरल तरिकाले देखाइदिएको छ । आज छोराछोरीहरुले आमाको पीडाहरुलाई नबुझिदिने हुनाले आज कति आमाहरु जीवनको अन्तिम कालखण्डसम्म पनि उत्तिकै रहेका देखिरहेका छौ ।
आभा मुकारुङलाई ब्यक्तिगत रुपमा मेरो चिनजान छ । भावानात्मक नाताले म उहाँलाई मेरो प्रिय दिदी भन्छु । म निकै लामोसमयदेखि भनौ म ९, १० बर्षको हुँदा देखि नै म उहाँको गीत सुन्दै हुर्के । २० बर्षकौ समयमा आइपुग्दा मैले उहाँलाई भेट्न काठमाण्डु गएको थिए । एउटा गीत बोकेर । गीतको तौल खाँसै थिएन तर त्यो मेरो लागि बहाना थियो उहाँलाई भेट्न ।
त्यो भेट भएको पनि थुप्रै पो भइसकेछ । समय पनि छेक्न मिल्न भए पो ।
अन्त्यमा मेरो दिदीलाई भारी बधाई र शुभकामना ।


Trouble listening? Try from alternative players
Advertisement