क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ »

डा. मधुकृष्ण श्रेष्ठ । मधुमाधुर्य नामले चर्चित साहित्यकार-चिन्तक-दार्शनिक तथा अन्तराष्ट्रिय प्राध्यापक । क्वाणटम साहित्यको व्याख्याता र विश्व नेपाली साहित्य महासँघका पूर्वादक्ष्य । उनै बौद्धिक र प्राज्ञिक व्यक्ति जसलाई नेपाली साहित्यमा चासोको रुपमा हेरिने गरिन्छ । प्राध्यापनबाट नै उच्चस्तरको कमाई गर्ने शिक्षित नेपाली । विशेष: अन्तराष्ट्रीय स्तरको विशिष्ट कविता लेख्ने बौद्धिक कवि । उनै व्यक्तित्वसँग आलोपालो डटकमले गरेका केहि प्रश्नोत्तरहरू जस्ताको त्यस्तै यहाँ राखिएको छ ।

१. तपाई एकै व्यक्ति प्राध्यापक, साहित्यकार र चिन्तक हुनुहुन्छ । यिनीहरूकोबीच के अन्तर सम्बन्ध छ ?

- यिनीहरुबिचको अन्तर सम्बन्ध संक्षेपमा भन्नुपर्दा सम्भवत: अध्ययन, अनुसन्धान, चिन्तन-मनन र सिर्जनाआदि हुनसक्छन जो मेरो गहिरो रुचिको सीमाक्षेत्रभित्र पर्दछन् र मूल कारक तत्व हुन् : चाहना र ज्ञानप्राप्तिको आशक्ति !

२. क्वाण्टम विचार खासमा के हो ?

- साहित्यमा देखापरेको क्वान्टम विचार मानिसलाई सम्भावनाको केन्द्रविन्दु मानेर जीवन र जगतलाइ हेर्ने नयाँ वैज्ञानिक दृष्टिकोण हो, नूतन प्रस्ताव हो, बहुआयमिक प्रयोग हो | हाम्रो मानव सभ्यता यतिखेर चारैतिरबाट "क्वान्टम" रहस्यप्रति आकर्षित भैरहेको छ | अवलोकन कर्ताको निजि चेतनाको तरंगले कुनै प्रक्रियामा रहेको फेनोमेनन वा घटनालाई परिवर्तन गर्ने कौतुहलपूर्ण वैज्ञानिक अध्ययनले विविध क्षेत्रलाइ प्रभाव पारेको देखिन्छ : क्वान्टम विज्ञान, क्वान्टम हिलिङ्ग, क्वान्टम कम्प्युटर, क्वान्टम बायोलोजी ... र साहित्य पनि अछुतो रहन सकेन | भौतिक विज्ञानमा कुनै पनि प्रतिक्रिया वा प्रक्रियामा भाग लिने वस्तुको सबैभन्दा न्युनतम इकाई नै क्वान्टम (बहुबचन: क्वान्टा) हो : त्यो तरंग वा उर्जाको रुपमा पनि हुनसक्छ | तर साहित्यमा त्यो परिभाषा हुबहु लागु हुँदैन, त्यहा क्वान्टम भनेको काव्य-तत्वको अदृश्य /अमूर्त तरंगहरु हुन् जसले चेतनाको रुपमा सम्प्रेषित भएर कुनै मनोवैज्ञानिक पक्षमा प्रभाव पारेको हुन्छ | केहि हरफमा क्वान्टम साहित्यको सम्पूर्ण अबधारणा प्रस्तुत गर्न सम्भव नहोला | अहिले क्वान्टम कविताको प्रयोग शुरु भैरहेको छ ....

३. धेरै बर्षदेखि रसियामा अध्ययन-अध्यापनमा हुनुहुन्थ्यो, तपाईको अनुभवबाट तमामले सिक्नु पर्ने कुराहरू प्रकाश गर्दिनूस् न ?

- जीवन र जगत बहुआयमिक छ र सिमित एक - दुइ थोक विषय मात्र जानेर वा बुझेको भरमा सत्य कुराको पहिचान गर्न गार्हो हुन्छ, त्यसकोलागी रुचि अनुरुप सम्बन्धित विषयको गहन अध्ययनमा लागिरहनु पर्छ, साधना गरिरहनु पर्छ, धेरै विषयहरुको अन्तर्सम्बन्ध पनि हुँदो रहेछ ( उदाहरणकोलागि सिभिल इञ्जिनियरिङ्ग र साहित्यको , जसबाट साहित्यिक इञ्जिनियरिङ्गको प्रयोग गरिंदैछ ) | अनि धेरै कुरा बुझिसकेपछि केहि पनि नबुझेको रहस्यवोध हुन थाल्दछ, यो क्षण मज्जाको हुन्छ र कहिलेकाहीं केहि पनि नपढेको वा केहि पनि नजानेको मान्छे देखेर इर्ष्या पनि जाग्छ : उनीहरु पनि उन्मुक्त मुस्कानसहित बाँचीरहे कै छन् | त्यसैले समय-चक्रमा जीवन बाँच्ने शैलीको ठोस मापदण्ड हुँदैन - यसै गर्नु पर्छ भन्ने !

४. मानव समाज र साहित्यमा क्वान्टम विचारको आवश्यकता किन ?

-मानौं, क्वान्टम भन्ने शव्द वा विचार छैन रे | मान्छेको विचारको तरंगमा निहित सकारात्मक वा नकारात्मक गुण वा प्रकृति अनुसार कुनै क्रिया गर्दा सोहि बमोजिमको परिणाम आउने प्रचुर सम्भावना रहन्छ | यदि यो कुरा व्यक्ति वा समाजकोलागि महत्वपूर्ण छ भने साहित्य वा कुनै विधा मार्फत त्यसको वैज्ञानिक अध्ययन किन नगर्ने, प्रयोग किन नगर्ने ? साहित्यमा विचार, शव्द संयोजन र कलात्मक प्रस्तुति शैलीको महत्वपूर्ण तालमेल मिल्नुपर्छ र क्वान्टम प्रयोग मूलत: आन्तरिक तत्व वा संरचनाको रुपमा निर्वाह भैरहेको हुन्छ | अर्कोतिर, हाम्रो परिवर्तनशील संसारभित्र साहित्य सिर्जना र मानव समाज जहिले पनि नयाँ नौलो कुराको अपेक्षा वा आग्रह गरिरहेको हुन्छ |

५. तपाईका प्रकाशोन्मुख साहित्यिक सिर्जनाका बारेमा जानकारी दिनुस् ?

- क्वान्टम साहित्य विमर्श प्रकाशन गर्ने तयारीमा छु, रुसी भाषामा एउटा अनुदित कविता संग्रह निकाल्ने, प्रकाशित रचना र कृतिहरुको अंग्रेजीमा पनि अनुवाद गराउने गर्ने लगायतका अरु योजनाहरु पनि छन् ....

६.विश्व नेपाली साहित्य महासँघको पूर्वादक्ष्यको हैसियतले नेपाली साहित्यको स्तर र भविष्यको बारेमा तपाईको विचार कस्तो छ ?

- जे लेखे पनि साहित्य भैहाल्छ भन्ने फेस्बुके प्रवृत्तिको हावीले नेपाली साहित्यको स्तर घट्ने पो हो कि भनेर मैले चिनेजानेका केहि वुद्धिजिवी साहित्यकारहरु नेपाली साहित्यको भविष्यबारे चिन्तित छन् | कुनै पनि कुराको राम्रो अध्ययनबिना साहित्य सिर्जना गर्दा न आफुलाई सन्तुष्टि मिल्छ न अरुको समय नै जोह हुन्छ | स्पष्ट विचारबिना लेखन कार्य सार्थक होलाजस्तो लाग्दैन | थोरै स्तरीय साहित्यिक कृतिहरु प्रकाशित भएका पनि छन | डिजिटल नेपाली साहित्य पनि साइबर स्पेसमा विचरण गरिरहेको अवस्थामा धेरै प्राविधिक सुविधाहरु उपलब्ध छन - सदुपयोग गरौँ | स्तरीय साहित्य सिर्जना समयको माग हो यस्कोलागि साहित्यमा नया अध्ययन र अनुसन्धानहरु पनि अघि बढाऔं, छलफल र संवाद पनि गरौँ |
-alopalo.com / HK Nepali Radio

 

Trouble listening? Try from alternative players
Advertisement