आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा »

संसारमा पैसा कमाउने र शिक्षा हासिल गर्ने लाखौँ-करोडौं मान्छे छन् तर मानवहीत र मानव सेवा तथा आफ्नो सम्प्रदाय-समुदायको निमित्त काम गर्ने साह्रै कम छन् । तिनै कम मध्ये सानै उमेरमा निकै धेरै कर्म गरिसकेका एक प्रेरक व्यक्ति हुन् -पेम्बा गेलु शेर्पा ।

विकट गाउँ बेनी-१ चारघरे, सोलुखुम्बुमा २०४३ साल भदौ ९ गते बुवा दोर्जी शेर्पा र आमा कान्छी शेर्पाको कोखमा जन्मिएका पेम्बाले सुलुखुम्बु कै जुनवेशी माध्यमिक विध्यालयबाट प्रवेशिका उतिर्ण गरेपछि उच्चशिक्षाकालागि काठमाडौ छिरे । ३ बर्षे सिविल ईन्जिनीयरिङमा अध्ययनरत हुँदा माओवादी आन्दोलन चलिरहेको थियो । यसै आन्दोलनले उठाएका पहिचान, समानुपातिक र समावेशिताको कुराले विध्यार्थी मनलाई तान्न थाल्यो र उनी शेर्पा संघद्वारा स्थापित शेर्पा युथ ग्रुप अन्तर्गत सदस्य रही प्रशिक्षणहरूमा सामेल हुन थाले । क्रमश: उनी राजनीति र आफ्ना सम्प्रदायप्रति लाग्न थाले । त्यतिबेला रेडियो HSBC मा गायक टुङ्ना देण्डी शेर्पाद्वारा सञ्चालित शेर्पा भाषाको साप्ताहिक कार्यक्रमले पनि उनमा आफ्नो भाषा-संस्कृतिप्रतिको प्रेम धेरै उमारिदियो । सञ्चालक अमेरिकातिर लागेपछि उक्त कार्यक्रम प्रभावकारी नभएको महशुस गरेपछि पेम्बाले अग्रज पत्रकार आङ छिरिङ शेर्पा, तत्कालिन शेर्पा संघका अध्यक्ष कृपासुर शेर्पा, आङ काजी शेर्पा किसान, शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, तत्कालिन शेर्पा संघका महासचिव ङिमा तेण्डुप शेर्पा र कोषाध्यक्ष आङ दावा शेर्पाको विशेष उपस्थितीमा वहस र छलफल नै चलाए र अन्तत: २०६५ सालमा शेर्पा संचार समूह नेपाल स्थापना पनि भयो ।

उपेक्षित र गौण रहेको आफ्ना भाषा, कला, सँस्कृतिको बिकास र प्रवर्धनका निमित्त उनले गोरखा पत्रमा पूर्व सभासद आङदावा शेर्पाको संयोजकत्वमा सहसंयोजक रही काम गरे । त्यतिबेला नै उनी हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको बोर्ड सदस्य बनेर काम गरे । यसै केन्द्रको महासचीब र उपादक्ष्य तथा शेर्पा संचार समूहको संस्थापक सचीव र अदक्ष्य पनि बनेर काम गरे । त्यसैगरि नेपाल शेर्पा संघ केन्द्रीय समितिको सचीव हुँदै शेर्पा किडुक साईप्रसको सल्लाहकार भई अहिले काम गरिरहेका छन् ।

आफ्नो कार्यकालभित्र पेम्बा गेलु शेर्पाले अनेक सामाजिक-साँस्कृतिक सेवाका कामहरू गरिसकेका छन् । राम्रो क्षेत्रमा राम्रो अध्ययन गरिरहेको मान्छे किन यसरी सँघ-सँस्थातिर एकाएक मोडिनु भयो ? भन्ने प्रश्नको जवाफ उनी यसो भन्छन्-'नेपाल एक बहुपहिचानमुलक देश हो, यहाँ विभिन्न जाति समूदायहरुको बसोबास रहेको छ । तर विगत लामो समयदेखिको एकल भाषा धर्म संस्कृति र जातिको अधिपथ्यबाट संचालन हुँदै आएको कारणले नेपालका विशेष: गरि आदिवासी जनजातिहरुले आफ्नो पहिचान, भाषा, संस्कृतिहरु गुमाउँदै गईरहेका छन् ।

आदिमकालदेखि नै नेपालका विभिन्न भू-भागहरुमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरु नै यतिबेला नेपालमा ब्रह्माणहरुको दासत्व स्वीकार गरेर बस्नुपरेको अवस्था छ । स्वदेश तथा विदेशमा विभिन्न आदिवासी जनजातिहरुका नाममा खोलिएका संघ संस्थाहरुको एउटै उद्देश्य उनीहरुको पहिचान भाषा, कला, सँस्कृति तथा परम्पारगत मूल्य र मान्यताहरुको संरक्षण गर्नु हो ।' औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू संचालन गरेर मानव सेवा र पछि परेका नेपालका आदिवासी जनजातिहरूको हीतमा काम गर्नु उनको मूख्य उदेश्य र रुची हो । नेपालको जर्जर अवस्थाले स्नातकसम्मको शिक्षा हासिल गरेर सामाजिक कार्य गर्दा-गर्दै बिदेशिनु परे पनि पेम्बा गेलु शेर्पाले अझै अनलाईन पत्रिकाको युरोप ब्युरो प्रमुखको रुपमा काम गरिरहेका छन् ।

राजनितिमा चासो राख्ने पेम्बा थप्छन्- नेपालको राजनिति खास राजनिति हैन । गुटवन्दी, खुराफाती, व्यक्तिगत स्वार्थलिप्सा र पदमोह मात्र छ । खास राष्ट्र र जनताको सेवामा समर्पित राजनिति स्थापना भएको छैन । यसप्रति जनता सचेत हुन आवस्यक छ ।' आफूले सकेसम्म र सम्भव भएसम्म शेर्पा लगायत सबै पछौटे जातजातिहरूको उत्थान, उन्नयन र समुन्नतिकोलागि समर्पित भएर काम गर्ने प्रतिवद्धता जाहेर गर्ने पेम्बा अहिले संसारभरी संगठित भएका शेर्पा समाज तथा अन्य जातिहरूको एकता र सकृयता देखेर खुशी छन् । आदिवासी जनजातिहरूको हक-हीतकोलागि आफूले जस्तोसुकै अवस्थामा पनि जस्तोसुकै जिम्मेवारी वहन गरेर काम गर्न सक्ने हिम्मत भएका शेर्पा जनजातिहरूको शिक्षा, स्वास्थ्य र संचारकालागि सकृय भएर काम गरिरहेका छन् । युएई, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, लग्जेम्वर्ग, स्वीजरल्याण्ड, पोर्तुगल, भारत आदि देशहरूको भ्रमणबाट आफूले देखे-सिकेका धेरै कुरा तमाम नेपालीहरूमा पनि देख्न पाउने सपना बोकेका छन् । साहित्य-कला-सङ्गीतमा पनि रुची राख्ने पेम्बा गेलु शेर्पा अनेक सँघ-सँस्थाहरुबाट धेरैपल्ट अभिनन्दित र पुरस्कृत भईसकेका छन् ।

–- खगेन्द्र पन्धाक --

Trouble listening? Try from alternative players
Advertisement