जीवनको अनुवाद र सोम लिम्बू »
 -खगेन्द्र पन्धाक लिम्बू
जन्म भुटानमा । हुर्के-बढे-पढेको नेपालमा । र, कर्म युकेमा । अहिलेसम्म नागरिकता कतैको छैन । भन्दा भुटानिज नै भनिए पनि भाषा-सँस्कृति रहन-सहन सबै नेपाली । जीवन भनेको भोगाई रहेछ । भोगाई पनि मान्छेले निर्माण गरेको नियम, सिमाना, राष्ट्रीयता र अनेक प्रावधानभित्रको कहाली लाग्दो भोगाई । यै भोगाईका एक पात्र अर्थात गायक सोम लिम्बूको चर्चा गर्दैछु । सोम लिम्बू भुटानमा जन्मिए पनि आफ्नो थर थेगिम थक्लेन लिम्बू हो भन्ने जान्दछन् । भुटानमा नेपाली मूलका नेपाली भाषीले आफ्नो साँस्कृतिक अधिकारकालागि आन्दोलन गरेपछि भुटान सरकारबाट दमनमा परेकाहरूको एक पात्र हुन उनी ।

सरकारले छानी-छानी नेपाली भाषी नेपाली मूलका नागरिकलाई अत्याचार गर्न थालेपछि भुटान छोडेर नेपाल भित्रिएका परिवारहरूको सदस्य हुन उनी । उनी नेपाल पस्दा चारबर्षका नाबालक थिए । नाबालक मै नेपाल पसेको उसलाई याद छ तर किन आफ्नो जन्मदेश छोड्नु परेको भन्ने बारे उसलाई त्योबेला केहि थाहा थिएन । याद छैन । ललाई ढाप, सर्पाङ जिल्ला साउथ भुटानमा आमा सञ्च माया माङमुङ लिम्बू र बुवा बलमान थेगिम थक्लेन लिम्बूको कोखमा जनवरी-१, १९८६ मा जन्मिएका सोम लिम्बूको परिवार सन् १९९० मा भुटानबाट विस्थापित भएर झापाको भुटानी शरणार्थी क्याप्मा पुगेको थियो ।

नेपाली भाषी भुटानीहरूलाई जोङ्खा भाषामा अर्थात भुटानीहरूले ‘लोछोम्पा’ भन्ने गर्दछन् । लोछोम्पाहरूले आफैँले नेपाली भाषाको स्कूल खोलेका थिए । आफूले खोलेको स्कूलमा नै उनीहरू अध्ययन-अध्यापन गर्दथे । आफूले खोलेको स्कूलमा नेपाली दौरा-सुरुवाल-ढाका टोपीलाई स्कूलको पोषाक र कार्यालयीय पोषाकको रुपमा लगाउँथे । यै कुरालाई भुटान सरकारले स्वीकार्न नसकेर लोछोम्पा अर्थात नेपाली भाषी भुटानीहरूलाई रातरात आक्रमण र दमन गर्न शुरु गर्यो । सरकारले नेपाली सबै किताव समेत जलाई दियो । जसको कारण यो परिवार पनि भुटान छोडेर आफ्नो ऐतिहासिक पूर्खजहरूतिर भागेर नेपाल आईपुग्यो । सोमका बराजूको पालामा उनीहरू पूर्बी नेपालबाट भुटान पसेका हुन् । उनका बुवा बलमानले नेपाल नै आएर पाँचथरबाट उनकी आमालाई बिवाह गरेका लगेका थिए ।

 आन्दोलन र क्रान्तिमा समावेश नहुने तथा सरकारको आँखामा कसिङ्गर नदेखिएकाहरूलाई भने सरकारले दमन नगरेको कारण आधाउधी नेपाली भाषी भुटानी लोछोम्पाहरू भने आजपर्यन्त नै भुटान मै बसिरहेका छन् । सोमका जेठी दिदी विवाह गरेर अर्को ठाउँमा बसेको हुनाले उनी अझै भुटानमा नै बसिरहेकी छिन् । यस घटनाका एउटा साक्षी बच्चा झापाको शरणार्थी क्याम्पबाट नै कखरा चिन्न स्कूल जान थाल्यो र नजाँनिदो पाराले नेपाली गीत गुन्गुनाउन थाल्यो । अनेक आयोग-नियोगको सहयोगार्थमा जीवन चल्दै जाँदा क्यारिटस नेपालले सञ्चालन गरेको ग्रीन भेल एकेडेमी झापामा नि:शुल्क पढेर सोम लिम्बूले एसएलसी पास गरे । त्यसपछि आफैँले अनेक दु:ख गरेर शुल्क तिर्दै सिद्धार्थ उच्च माध्यमिक विध्यालयबाट +२ पूरा गरे । आयस्रोत नहुनाले पढाईलाई अगाडी नबढाई उनी शिक्षण पेशामा लागे । पशुपालन-खेती नहुने र घर चलाउन पर्याप्त आर्थिक नहुनाले ऊ पोखरामाथिको धुम्पुससम्म पुगेर ३ बर्ष शिक्षक बने । पोखरामाथि कै गाउँ बुझुङ खोलामा पनि १ बर्ष शिक्षक बने र तराईको रघुनाथमा पनि शिक्षण गर्न पुगे । पारिवारिक वातावरण साङ्गीतिक नभए पनि स्कूलबाट गीत गाउन थालेका सोम लिम्बूले गुरु गोपाल आचार्यसँग नि आधारभूत सङ्गीत सिके । भुटानमा लिम्बू सँस्कार-सँस्कृतिमा नै भुटानी लिम्बूहरूको जीवन चल्थ्यो भन्नेसम्म सुने-जानेका उनले साँस्कृतिक रुपमा लिम्बूहरू कला र सङ्गीतमा लिप्त जाति हुन भन्ने बुझेका छन् ।

‘मैले गाएको गीत परिवारले सुनोस् ! साथी-भाई आफन्त र गुरुहरूले सुनून् । र रेडियो-टिभीबाट आफ्नो स्वर आफैँले पनि सुन्न पाईयोस् भन्ने लाग्थ्यो ।‘-यो उनको अभिव्यक्ति हो । हुन पनि सोमको पहिलो स्रोता उनकै जीवन साथी पेमा लामा हुन् । उनको हौसल्लाले नै अहिले एल्बमको तयारीमा रहेका उनी बताउँछन् । झापामा हुँदा नै भुटानबाट आफू जस्तै आएकी पेमासँग विवाह बन्धनमा बाँधिएका थिए । सङ्घर्षका दिनहरू व्यथित हुँदै जाँदा युएनएचसिआरले बाटो खोलिदियो र आफ्नो चयन अनुरुप युके जाने बाटो खुल्यो । ऊ सपरिवार लिएर युके पुगे । तर आफ्ना बुवालाई आठबर्ष अगाडी नै नेपालमा नै गुमाउनु पर्यो ।

आफ्नो जीवनको उत्तार-चढावलाई सम्झेर भन्छन्-‘ सकरात्मक सोचले जीवनलाई चलाईयो भने साना समस्याहरू ठूला भएर जाँदैनन् र ठूला समस्याहरू पनि साना भएर जान्छन् ।‘ जन्म कता, हुर्के-पढे-बढेको कता ! कर्म कता ! ‘नागरिकता भनेको सामान्य पहिचान बाहेक केहि हैन रहेछ ।‘-भन्छन् । युकेमा नै सोम लिम्बूले अँग्रेजी र गणितमा GCSE(General Certificate of Secondary Education) पूरा गरे । अहिले सोम लिम्बू युके मै नेपाली-अँग्रेजी भाषाका फ्रिलेन्स ईन्टरप्रेटरको काम गर्छन् । सासु डाली शेर्पा तथा आफ्नै आमा सहित युकेमा बसेका सोमले जीवन सङ्गीनीलाई युके मै पढाईरहेका छन् । उसलाई आफू जन्मेको देशको भुटानी भाषा पटक्कै आउँदैन । नेपालबाट आएकाहरूलाई सपिङ गर्दिनेदेखि अस्पताल, टेलिफोन कार्यालय, जग्गा-जमिन सबैतिर सोमले सहयोग गरिरहेका छन् । अहिले जीवनले मोड फेर्यो । युके बसेर नेपाली गीत रेकर्ड गर्न यो हप्ता ऊ नेपाल उड्दैछन् । भन्छन्- ‘आफ्नै जन्मदेश भूटान बाहेक संसारको जूनसुकै देश जान मिल्छ ।‘ थप्छन्- ‘मेरो पूर्खा नेपालको नेपाली । म भुटानको नेपाली । मेरो ३ बर्षे छोरो बृटिषको नेपाली । जीवनमा जे जस्तो कुराहरू छुट्दै र जुट्दै आए पनि र जता गए पनि मसँग जोडिएको नेपाली । तेसैले नेपाली भाषा-सँस्कृति-कला पनि मसँग जोडिएको छ ।‘ जीवनलाई भोगाईबाट अनुवाद गरिरहेका सोम लिम्बू जस्ताहरूको कथा कति छुटेको होलान् । तर उ प्रेरणादायी पात्र हुन् । अहिले युकेमा भुटानबाट आएका नेपाली र नेपालबाट आएका नेपालीहरू बीच बाँच्न पाउँदा सोमलाई रमाईलो र खुशी लागेको छ । नेपाल तथा भुटानबाट आएका सबै नेपालीहरूले आफूलाई प्रोत्साहन दिएको बताउँछन् । नेपालीहरूले हरेक चाडबाडमा भेटघाट गर्ने र सँगै रमाईलो गर्ने गर्दछन् । Sheffield Bhutanese Community खोलेर नेपाली कला-सँस्कृति जोगाउने काम गरिरहेका छन् । उनीहरूसँग अहिले नेपाली बाजा-गाजाहरू सङ्कलित छन् ।

अहिले आफूले ‘फष्ट स्टेप’ एल्बमको तयारी गरिरहँदा बुवाको उपदेश याद गर्दै भन्छन्-‘चिताएको पुग्छ ।‘ नाना रोदुङ राई, पाल चाम्लिङ, टेक तामाङ, राजनराज सिवाकोटी र आफ्नै शब्दमा खगेन्द्र पन्धाक लिम्बू, पावल चाम्लिङ, राजनराज सिवाकोटी र आफ्नै सङ्गीत तथा साज सिंह र पावल चाम्लिङको एरेञ्जमा ७ वटा आधनिक र लोकाधुनिक राखेर एल्बम तयार गर्दैछन् । सबै गीतहरूको म्युजिक भिडियो बनाउने योजना राखेर दुई महिनाकोलागि नेपाल जान लागेका सोम आफैँ पनि मीठा-मीठा गीत लेख्ने गर्दछन् । विशेष: सन्देशमुलक र सकरात्मक भावको गीत मन पराउने सोम लिम्बूलाई एल्बम तयार गर्न के गर्नु पर्छ भन्ने समेत थाहा थिएन । तर फेसबुकमा शेर्पेनी कान्छीको शब्द रहेको साज सिंहको स्वर रहेको ‘नजुध्नु थियो ...भन्ने’ गजल सुनेपछि यो स्तम्भकारलाई सम्पर्क गरेको बताउँछन् । एल्बममा साथ दिन श्रेयसी चेम्जोङ र मेलिना राईसँग सर्त भईसकेको सोमले जानकारी दिएका छन् । यति छोटो जीवनमा यति धेरै अनुभव र सँघर्ष गरेर हाम्रो नेपाली साहित्य-सङ्गीत र समाजलाई माया गर्ने भाईलाई धेरै-धेरै शुभकामना ! यो एल्बमबाट आएको केहि रोयल्टी अनाथहरूलाई सहयोगार्थ प्रदान गर्ने ध्येय राखेका सोमले नेपाल कै केहि बालबालिकालाई पनि पढ्न सहयोग गरिरहेका छन् । नेपाल जाँदा नि अनाथालय पुग्ने सोमको गहिरो ईचछा छ । मन ठूला भएका कोमल-शिष्ट गायक सोम लिम्बूको जीवनीले प्रभावित बनेर यो छोटो जीवन-चित्रण लेख तयार गरेको हुँ । यसमा थपघट-बढाई-चढाई केहि छैन । यति लेखेर सोम लिम्बू भाईलाई शुभकामना दिन पाउँदा खुशी लागेको छ ।
Trouble listening? Try from alternative players
Advertisement