गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा »
गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा

शीरफूल शीरैमा... बोलको लोक-पप गीत गाएर एकाएक चर्चामा आएकी गायिका केन्जुमा सुब्बा अहिले तेस्रो एल्बमको तयारीमा छिन् । शौख र नजानिँदो लगावका कारण गायनमा आई पुगेकी केन्जुमाको दुईवटा सोलो एल्बम पहिले नै बजारमा आईसकेका छन् । चलचित्र, कलेक्सन आफ्ना गरेर लगभग ४० वटा गीत गाईसकेकी केन्जुमा शुरुमा साकिराको गायनबाट प्रभावित भएको बताउँछिन् ।

'कलात्मक अभिव्यक्तिको सशक्त माध्यम नै गीत-सङ्गीत हो । सुर र तालको सम्योजनबाट भाव सम्प्रेशणको सर्वोत्तम कला नै सङ्गीत हो ।'-भन्ने धारणा राख्ने केन्जुमा स्रोताहरूको मायालाई नै सङ्गीतको सुखद पक्ष मान्दछिन् । सङ्गीतमा लाग्नेले कहिल्यै एक्लो हुनु नपर्ने र सङ्गीतबाट आनन्द प्राप्त हुने सकरात्मक पक्ष हुन् । गीत-सङ्गीतमा लामो लगाव र अप्ठ्यारो परिस्थितिहरू झेलेर गीत-सङ्गीत बाहिर ल्याए पनि एकै मिनेटमा मान्छेले सस्तो र हल्का प्रतिकृया सहित अवमूल्यन र अपहेलना गरेको नराम्रो पक्ष हो भन्ने उनको राय छ ।

बिजयालक्ष्मी सुब्बा र भीम बहादुर सुब्बाको कोखमा मोरङमा जन्मिएकी केन्जयमा अहिले काठमाडौमा सङ्गीत साधनामा लिप्त छिन् । विशेष: पप तथा रक शैलीका गीत गाउन रुचाउने केन्जुमाले नेपाली लोक लय पनि मन पराउँछिन् । नेपाली लोक लयलाई पो-रकमा फ्युजन गरेर गाउने उनको विशेष रहर छ । केन्जुमा गीत मात्र गाउँदिनन्, समाजसेवा पनि गर्दछिन् । भरखरै भूकम्प पीडितहरूको सहयोगकोलागि एक्स्पोज नेपालसँग आवद्ध भएर विभिन्न ठाउँमा ४० वटा टहरा र राहत वितरण सकेर काठमाडौ फर्केकी छिन् । भूकम्पको विध्वंसले दुखित बनेकी सुब्बा सेवाक्रममा भेटिइएका वृद्ध-वृद्धाहरूको आशिर्वाद पाएर खुशी पनि छिन् । तेति मात्र हैन, राष्ट्रीयता झल्काउने र प्रकृति-पर्यावरण झल्काउने सन्देश मूलक गीत गाएर अहिले भिडियो निर्माण उनी व्यस्त छिन् ।

राजनितिले सबै क्षेत्रलाई नकरात्मक असर गरे झैँ गीत-सङ्गीतलाई पनि असरको उनको तर्क छ । राजनितिकर्मीले सङ्गीतलाई भर्याङको रुपमा मात्र प्रयोग गरेर यसको विकास र सम्वर्धनमा कहिल्यै नसोचेको उनको गुनासो छ । कला-सङ्गीत राष्ट्रको सम्पत्ति र परिचय हुनाले यसतर्फ राज्यको ध्यान जानु पर्ने र प्रतिभाहरूको पलायन नहोस भनेर तुरुन्त राज्यले ध्यान दिनु पर्ने उनको सुझाव छ ।

(प्रतिभाशाली, असल व्यक्ति र कलाकारहरूको सम्मानार्थ अभियानमा मार्फत आलोपालो डट कम, नेपाली रेडियो हङकङ र आफ्नै ब्लगकोलागि लेख तयार गर्न साहित्यकार केशर माङयुङ सुब्बाले गायिका केन्जुमा सुब्बासँग गरेको भलाकुसारीमा आधारित लेख ।) -खगेन्द्र पन्धाक लिम्बू
Trouble listening? Try from alternative players
Advertisement