गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई »

-- प्रस्तोता: कुङ्गा ङिमा शेर्पा(रसिया)

कठिन संघर्षका दिनहरू आफैँमा तिक्त हुन्छन् नै ! तर तिनै संघर्षका दिनहरूले गर्दा जीवनले फड्को मार्छ, ती यादहरू मीठा हुन पुग्छन् । तेसैले त गौतम सागर राई आफ्नो अतित सम्झिँदै भन्छन्- ‘भोक-भोकै काठमाडौको भीडमा नून-खोर्सानीको अभावले सताउँदा आफन्तहरू समेत घृणा गर्थे । आज खुशी छु तिनै भोगाईहरूले मेरो यात्रा बन्दैछ ।‘

आफ्नै शब्द, सङ्गीत, सङ्कलन र स्वरमा चारवटा लोक तथा आधुनिक गीती एल्बम निकालिसकेका गौतम सागर राईले अतितका त्यस्ता जर्जर समयमा पनि नेपाली लोक-साहित्य र सङ्गीतलाई प्रेम गरिरहेकै थिए । तर नेपालीहरूको अवस्था, केहि रहर त केहि वाध्यताले उनका साहित्य लेख्ने औँलाहरू डिभी चिट्ठा भर्न पुगे । आर आर क्याम्पसबाट सङ्गीतमा स्नातक गरिरहेको बेला उनलाई डिभी चिट्ठा पर्यो र उनी अमेरिका हुँईकिए ।

विशेषत पूर्बेली लोक भाका जमाएर गाउने राई डिल्लीमाया राई र चक्रबहादुर राईका छोरा हुन् । सोलुखुम्बू पावै-९ मा जन्मिएर काठमाडौको भीडमा शिक्षा र कलामा होमिएका गौतम सागर कवि पनि हुन् । २०१० मा बि एफ बि एस रेडियोको विश्वब्यापी अनलाई कविता प्रतियोगितामा नेपालबाट तेस्रो बनेपछि कविता लेखनमा झन सकृय बनेका राईले ‘दोधारे माया’, ‘कान्छी मोरीलाई’, ‘जीवन घाम-छाया’ र ‘दिलको ड्राईभर’ एल्बम निकाली सकेका छन् । लोकगीत मात्र हैन, उनले गजल र आधुनिक गीतमा समेत सङ्गीत र स्वर दिइसकेका छन् । गौतम सागर राई स्वर्णिम सौगात साहित्यिक पत्रिकामा २ बर्ष सम्पादक, मधुबन प्रतिष्ठानको संस्थापक केन्द्रीय उपादक्ष्य, प्रवक्ता, ब्यवस्थापक, अनेसास कोलोराडो च्याप्टरको सदस्य पनि हुन् ।

भोगाईका क्रममा काँडा नै काँडा टेकेर गौतम सागर राई आजसम्मको यात्रामा पुगेका छन् । उनी भन्छन्-गौतम सागर हुनलाई काँडाहरू टेकेर हिँडेको छु, अब त ती काँडाहरू पनि सुन्दर-मुलायम गुलाफ जस्तो लाग्न थालेका छन् । कहिले त ती दुखद दिनहरू सम्झिँदा रमाईलो पनि लाग्छ ।कहिले डर पनि लाग्छ ।‘ अब नेपाल गएर चाँडै नै एउटा कविता सङ्ग्रह र गीतको एल्बम निकाल्ने योजना बनाएका गौतम सागर राई अमेरिकाको ब्यस्त जीवनमा पनि गीत-कविता लेख्ने, सङ्गीत गर्ने, गाउने आदिबाट विमूख भएका छैनन् । अर्थात यसो भनौँ-डिभी चिट्ठाले गौतम सागर राई भित्र कला-साहित्य मोहलाई भत्काउन सकेन । उनी थप्छन्-‘बाँचुञ्जेल साहित्य-सङ्गीतलाई त्याग्न सक्दिन ।‘ उत्तर आधुनिक विकासको भूई टेकेर बाँचे पनि बहुप्रतिभाशाली राईले आफू जन्मिएको पवित्र माटोलाई भूलेका छैनन् । हरपल उनी आफ्ना गाउँ-ठाउँ सम्झेर नोष्टाल्जिक बन्दछन् र भन्छन्-‘मेरो गाउँमा म के गर्न सक्छु ? भनेर सोचीरहेको छु ।‘

Trouble listening? Try from alternative players
Advertisement