अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) »

प्रस्तोता-कुङ्गा ङिमा शेर्पा (रसिया)
ताप्लेजुङको पाफुङमा आमा पासाङ ल्हामू शेर्पा र बुवा फुर्बु छिरिङ शेर्पाको कोखमा जन्मिएर १६ बर्षे कल्कलाउँदो उमेरमै विदेश पसेका कर्मा छिरिङ शेर्पाले सन २०१० म ‘कर्मा पहाडी’ नामक शेर्पा लोकलयको गीती एल्बम आफ्नै शब्द-सङ्गीत र स्वरमा बजारमा ल्याईसकेका छन् । अर्काको देशमा अर्काको गुलाम गर्न वाध्य भएर काम गर्नु परे पनि आफूभित्रको देश-प्रेम, आफ्नो सँस्कृति र आफ्नो रुची कहिल्यै भुल्न नसकिने अभिव्यक्ति दिने कर्मा अहिले सामाजिक सँस्था र विदेश अन्तर्गत राजनैतिक पार्टीमा समेत सङ्लग्न भएर काम गरिरहेका छन् ।

 जस्तोसुकै काममा ब्यस्त भए पनि आफ्नो कला-सँस्कृतिप्रति मरिमेट्ने कर्मा छिरिङले अब अर्को एल्बमको तयारी गरिरहेका छन् । आफू शेर्पा भएको कारण र आफ्नो जातिको लोकलय, भाषा र सँस्कृति पृथक रहेकोले तिनै पृथक साँस्कृतिक पक्षलाई अझ उजागर गर्न शेर्पा लोकलय, सेलो र जनवादी गीतहरू समेट्ने बताउँछन् । ल्होसार वा कुनै पनि साँस्कृतिक कार्यक्रममा गीत गाउँदा सबैभन्दा पहिले वा प्राथमिक रुपले आफ्नै शेर्पा गीत गाउने गर्दछन् ।

बेलायतमा बसोबास गरिरहेका कर्माले पहिलो एल्बम पनि बेलायतमा नै रेकर्ड गरेका थिए । दोस्रो एल्बम पनि  बेलायतमा नै रेकर्ड गर्ने जानकारी दिन्छन् । शेर्पा सँघ युरोपको महासचीव, शेर्पा सँघ युकेको उपादक्ष्य र राष्ट्रिय जनमुक्ती पार्टी युरोपको महासचीवको रुपमा कार्यरत कर्मा आफूले सानैमा आफ्नो देश, समाज, परिवार र आफन्त त्यागेर विदेशिनु परेकोमा दु:ख लागेको बताउँछन् । आफू मात्र हैन, राष्ट्रीय तथा प्रख्यात समेत कमाई सकेका कलाकारहरू समेत नेपाल त्यागेर बिदेश हिँडेको देख्दा झन धेरै दु:ख लाग्ने बताउँछन् । वाध्यताले बिदेशमा रहनु परे पनि आफ्नै देशको माटो, खुल्ला आकास र मौसम मन पराउने कर्माले पछिल्लो पुस्ताले सँस्कार-सँस्कृति-भाषा-धर्म भुल्लान् भने पीरले पनि आफूले सकी-नसकी यसप्रति काम गर्ने बताउँछन् ।

समाज सेवा र कलाकारितालाई जीवनभर आत्मसात गर्ने प्रण गरेका कर्मा दोस्रो पुस्ताले आफूले थालेको यात्रा गरून् भन्ने चाहन्छन् । भूगोल, समाज र राष्ट्रबाट मान्छे अलग हुन सक्छ, तर उभित्रको आफ्नोपन पहिल्यै अलग हुन सक्दैन भन्ने मान्यता राख्ने कर्मा आफैँ मीठा-मीठा शब्द मात्र लेख्दैनन् आफैँ मीठो सङ्गीत भरेर मीठासपूर्ण गाउने पनि गर्दछन् । आफूले बिदेशमा बसेर दु:ख गरे पनि नेपालका गाउँघरका गरीब बच्चाहरूलाई पढाउन पनि सेवा र सहयोग गरिरहेका छन् । शेर्पात्व आफूभित्र बाँचे मात्र आफू बाँचेको महशुस हुन्छ भन्ने कर्माले यसपल्टको एल्बमकोलागि सबै गीतको ट्रयाक तयार गरिसकेको र स्वराङ्कन गर्न मात्र बाँकी रहेको जानकारी दिएका छन् ।

सबै कलाकार मन पराउने शेर्पाले विशेष: लोक सँस्कृति जोगाउने र बौद्धिकता भएका कलाकार मन पराउने बताउँछन् । तर प्रतिभाशाली कलाकारहरू क्रमश: बिदेश पलायन भएको कारणले देशलाई ठूलो क्षति भईरहेको राय राख्दछन् । जो जता-जसरी बसे पनि कला-सङगीतलाई माया गरिदेऊन् भन्ने अनुरोध राख्ने शेर्पा अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून भन्ने आफ्नो सपना रहेको बताउँछन् ।

Trouble listening? Try from alternative players
Advertisement