भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा »

नेपाली साहित्यमा दर्शन मर्मज्ञ, भयवादका प्रवर्तक देश सुब्बा नेपाली भाषा साहित्य उत्थान र विकासका लागि जीवन दिइरहनु हुने हङकङेली नेपालीहरुको प्रिय कवि, साहित्यकार एवं आदरणीय व्यक्तित्व हुनुहुन्छ । देश सुब्बासँग – भयवाद दर्शन र नेपाली भाषा साहित्यको  विषयमा देवराज राईले लिनु भएको अन्तवार्ता ।
 

>>देश सुब्बाज्यू तपाईलाई के भनेर बोलाउ ? दार्शनिक, कवि, उपन्यासकार वा लेखक ?

-- म दार्शनिक, कवि, उपन्यासकार बन्ने खोज्ने सामाग्री हुँ । बनिसकेको छुइनँ । घर बन्नलाई जग, झ्याल, ढोका, छाना, बालुवा, सिमेन्ट, काठ धेरै चाहिन्छ । बनिसकेपछि हामी घर भन्छौं । म पनि दार्शनिक, कवि, उपन्यासकार बन्ने कोशिशमा छु । बनिसकेपछि कुनै नाम आउँला । वैचारिक शक्तिको हिसाबले दार्शनिक शक्तिशाली हुन्छ । दर्शन विशुद्ध विचारको कोष हो । यसमा मनोरञ्जनको मात्रा कम हुन्छ, विचारको खेल बढी । यसमा अर्थको कुरा पनि आउँछ—कसले कसरी बुझेको छ । मैले अर्थ बुझ्नलाई चेतना, ज्ञान, स—संकेतक प्रवृत्ति, वातावरण, घटना भनेको छु । यसैको बुझाइले बन्छ अर्थहरू । यही अर्थहरूले निर्माण गर्छ जीवन र जगत् । कविता, उपन्यास, कथा, नाटकजस्ता साहित्यमा विचार र मनोरञ्जनको सँगम हुन्छ । मेरो निर्माणको यो संक्रमणकाल पूरा भएपछि कसैले दार्शनिक भन्ला, कसैले साहित्यकार । एउटा साँचो कुरा हो, समाजमा धेरै साहित्यकार जन्मिन्छन्, परन्तु विरलै जन्मिन्छन् दार्शनिक । नेपालीमा त दार्शनिक छैन भन्दा हुन्छ । त्यसैले मलाई बोलाउने कुरा पनि यस्तै हो ।
 

>>भयवाद दर्शनका बारेमा धेरै चर्चा परिचर्चा भइरहेको छ नि ?

-- हो बिस्तारै गति लिइरहेको छ । “भयवाद चिन्तन र विमर्श”, “भयवाद वैचारिक चिन्तन”, भयवादमा आधारित उपन्यास “आदिवासी”, भयवादमा समालोचना गरिएको नाटक “हेच्छाकुप्पा” र कवितासंग्रह “वैशको रूख” आइसकेका छन् । कृति आउने क्रम जारी छ । भयवादको मुख्य पुस्तक नेपालीमा अझै पनि आएको छैन । अविस्वासिलो तरीकाले अमेरिकन प्रकाशनबाट भयवाद दर्शन प्रकाशित भएपछि यसको चर्चा चुलिएको छ । कतिलाई अझै विस्वास नै भएको छैन । विस्वास पनि कसरी गर्नु ? नेपाली साहित्यमा हाम्रा साहित्यकारहरू वर्षौदेखि लेखिरहेका छन् । हाड घोटिरहेका छन् । किन्तु बाटो पत्ता लगाएका छैनन् । मुख्य कुरा बाटो हो । बाटो पत्ता लगाइएपछि हिँडिन्छ । भयवादलाई यहाँसम्म पु¥याउन म घोटिएको छु, भयवाद अध्ययन केन्द्र घोटिएकोछ, उता असम भारतबाट रण काफ्ले घोटिएका छन् । यसको चर्चा यताभन्दा उता भारततिर बढी छ । यताबाट छेलिएको छ, उता टल्किन्दैछ । सिक्किम, दार्जिलिङ, असम, मणिपुर, मेघालय, अरूणाचलप्रदेश, नागालैण्ड, म्यान्मारको टमूसम्म छलफल, गोष्ठी भएका छन् । उता असमीस, नेपाली, मणिपुरी, अंग्रेजीमा समाचार, लेख प्रकाशित हुँदै आएको छ । अझै पैmलिन्दैछ पर पर । रण काफ्लेले त बसिबियाँलो भनेर भयवादको प्रचारप्रसार गर्न नियमित कार्यक्रम नै चलाउँदै छन् । यी कारणहरूले चर्चा चुलिएको छ । अझै चर्चा पाउनेमा म आशावादी छु ।
 

>> भयवाद के हो ?
-- भयवाद विशुद्ध दर्शन हो । यसमा भयको विस्तृत वर्णन छ । आदिमकालबाट हामीसित भय थियो । हामीसित भएको भयलाई हाम्रा दार्शनिक, साहित्यकार, संगीतकार, कलाकारले नकरात्मक ढंगले मात्र व्याख्या गरे, वास्तवमा भय चेतनाहरूमा सबैभन्दा जेठो चेतना हो । यही भय चेतनाले हामी सञ्चालित, निर्देशित र नियन्त्रित छौं । हाम्रा आविष्कार, निर्माण सबै भयचेतनाका उपज हुन् । प्रहरी, सेना, अस्पताल, कानुन, समाज, अदालत, सरकार विद्यालय, बिमा, बैंक सबै नै भयलाई न्युन गर्न स्थापना भएका हुन् । यी सबैको पछाडि मृत्यु भय, प्रतिष्ठा भय, रोग लाग्ने भय, सम्पत्ति नासिने भय, समाज भाँडिने भय छन् । मैले भयवादमा सुत्रबद्ध व्याख्या गरेको छु । धेरै दर्शनको आधार भय भेटेकोछु । यस्तै भयले भय रोगी हुन्छन् भनेको छु । भय रोगी फैलिन्छ, त्यसकारण यसको उपचारको लागि अब छुट्टै अस्पताल, औषधि र डाक्टर हुनुपर्छ भनेको छु । अवसाद, तनाव, आत्महत्या, युद्ध, चिन्ता, मानसिक रोग सबैको माउ भय हो । यो यथार्थ पनि हो । मैले भयको क्षेत्रफल, आयतन मात्र हुन्छ भनेको छुइनँ यसको प्राथमिक र माध्यमिक उपचार बारेमा पनि बताएको छु । यस्तो धेरै भय वर्णनको समग्र रूप हो भयवाद


>> भयवाद दर्शनको उपयोगिता क–कसलाई हुन्छ ?
-- सबैभन्दा महत्वपूर्ण उपयोगिताको कुरा हो । भय क—कसलाई हुन्छ, कुन वर्ग र जातिकोलाई हुन्छ ? कुन उमेरकोलाई हुन्छ भन्ने प्रश्नमा हामी अल्मलिएका हुन सक्छौं । उपयोगिता जान्न अगाडि भय कसलाई हुन्छ भन्ने जान्न जरूरी छ । चेतनाको मात्र अनुसार सबै वनस्पति, प्राणी र मानिसहरूलाई भय हुन्छ । त्यसमा पनि विशेष वयस्क मानिसलाई । उनीहरूको जिम्मेवारी, कर्तव्य, प्रतिष्ठा कम उमेरका र वृद्धहरूभन्दा बढी हुन्छ, त्यसैले उनीहरूको भय पनि बढी हुन्छ । यो फैलिन्दै जाँदा भय रोग वा अन्य समस्या बन्छ । यसको उपयोग त प्राणी, वनस्पतिदेखि मानिसलाई हुन्छ । यसको आधार चेतना हो । चेतनासँगै काम, कर्तव्य, जिम्मेवार, दायित्व, प्रतिष्ठा बढी भएको मानिसलाई बढी भय हुन्छ । जसलाई बढी भय हुन्छ उसलाई नै यो सिद्धान्त बढी उपयोगी हुन्छ, त्यसमा मानिसदेखि पशुप्राणी सबै पर्छन् ।  

>>विश्वसाहित्यमा भयवाद दर्शन नौलो दर्शन हो त ?
--- भय दार्शनिक, साहित्यकार, चिकित्सकहरूले धेरै अगाडिबाट प्रयोग गर्दै आएको शब्द हो । अगाडिका दिनहरूमा भयलाई नकारात्मक र सानो आकारमा लिइएको पाइन्छ । पश्चिममा फोयिबा भनेका छन् । पूर्वमा रस सिद्धान्तमा राखेर आचार्य भरतले भय रसको व्याख्या गरे । यी सानो बिरूवालाई मैले गोडमेल गर्दै, मलजल गर्दै ल्याएको छु । अहिले यो वयस्क भएको छ । फुल्न खोज्दैछ । हिजो सानो आकारमा भएको यो दर्शनले विश्वमा नै नौलो दर्शनको रूप लिने कोशिश गरिरहेको छ । यो भन्दा अगाडि भयलाई मुख्य विषय बनाएर कसैले लेखेको, बोलेको भेटिएको छैन । भयबारेमा सानोतिनो लेख हामी भेटछौं । यही हो पहिलो पटक दर्शनको रूपमा आएको । त्यसैले यसलाई विश्वको सबैभन्दा कान्छो र नौलो दर्शन भन्दा अतिश्योक्ती नहोला ।

>> नेपाली साहित्य क्षेत्रमा भयवाद दर्शनको महत्व के छ ?

--- नेपाली साहित्यमा मात्र होइन, यसलाई अब विश्व साहित्य, कला, सँस्कृति, संगीत, समालोचना, विज्ञान र जीवनसँग राखेर हेर्नुपर्छ । यसको उपस्थिति चारैतिर छ । जहाँसम्म नेपालीको प्रश्न छ, यसको ठूलो महत्व छ । नेपाली साहित्य विश्व साहित्यको ऋणमा डुबेको छ । त्यो ऋणको व्याज तिर्न भयवादले मद्दत गर्दछ । “हामीसित पनि भयवाद छ” भनेर छाती चौडा पार्न सकिन्छ । जीवन र जगत्लाई आयातित चश्माहरूले मात्र हेरियो । अब मौलिक चश्माले हेर्न सकिन्छ । नेपाली साहित्यबाट अहिलेसम्म खासै शक्तिशाली विचार, साहित्य विश्वमा गएको छैन । कथा, उपन्यास, कविता गएका छन् । यसले टालोको काम गरिरहेको छ । शक्तिशाली विचार यो पहिलो हो । पहिलोको जहिलेपनि विशिष्ट स्थान हुन्छ । सगरमाथा पहिलो पटक तेन्जिङ सेर्पाले चढे, बाटो बनाए । अहिले धेरैले चढिसके । तेन्जिङ सेर्पाको स्थान सधैं सुरक्षित रहन्छ । त्यो पाइला कसैले मेटन सक्दैन । भयवाद पनि यस्तै हो जस्ता लाग्छ । 
 

>> भयवाद अध्ययन केन्द्र के गर्दैछ ?

--- भयवादलाई विकास गर्न स्थापना भएको संस्था हो भयवाद अध्ययन केन्द्र । हामी यसलाई संस्थागत गर्न खोजिरहेका छौं । कार्यक्रम गरिरहेका छौं । छलफल चलाइरहेका छौं । पुस्तक, पुस्तिका, प्रकाशन गर्दैछौं । पुरस्कार स्थापना गरेर प्रचारप्रसार गरिरहेका छौं । समग्रमा अध्ययन केन्द्र भयवाद दर्शनको विकासमा लागिरहेको छ ।
 

>> उत्तर भारतमा भयवाद दर्शनले धेरै चर्चा पाउनुको कारण के होला ?

--- उत्तरभारतमा भयवादले धेरै चर्चा पाउनुको कारण रण काफ्ले हुन् । उनी असम कार्विआङलाङ जिल्लाका बासिन्दा हुन् । उनले यसलाई फैलाउन अथक प्रयास गरिरहेका छन् । लेख लेखिरहेका छन्, बसिबियाँलो कार्यक्रम चलाइरहेका छन् । यही बसिबियाँलोको कार्यक्रम गर्दै असमको विभिन्न जिल्ला, नागालैण्ड, मणिपुर, म्यान्मार, मेघालय, दार्जिलिङ्ग, सिलगुडी पुगिरहेका छन् । कहिले उत्तरपूर्वका विद्वान्हरूलाई भेला गरेर गोष्ठी, सेमिनार गरिरहेका छन् । उहाँकै संयोजकत्वमा २०१३ सालमा धरानमा एक अन्तर्राराष्ट्रिय कार्यक्रम सम्पन्न भयो । यो कार्यक्रममा गैर नेपालीहरूको ज्यादा उपस्थिति थियो । उनले नै भयवादमा लेखिएका समाचार पत्रिका, पुस्तक बाँडिरहेका छन् । उनको एक्लो प्रयासले उत्तरपूर्वका नेपाली, गैर नेपाली धेरै साहित्यकार, पत्रकार, प्राज्ञिकहरू भयवादप्रति आकर्षित भएका छन् । उनलाई साथ दिने एकदुईजना भए यसले निकै उचाइ प्राप्त गरिसक्थ्यो । तथापि यति छोटो समयमा यतिको उचाइ सन्तोषजनक नै छ । भयवादसँग नेपाली गैर नेपाली धेरै सहमत छन् । धेरैले नौलो दर्शन मानिरहेका छन् । त्यहाँ यसले लोकप्रियता पाउनुको अर्को कारण अस्तित्व संकटको भय पनि हो । नेपालमा त्यो अवस्था छैन र प्रभाव कम छ ।

 

>> भयवादको नयाँ संस्करण फिलोसोफी अफ फियरीज्मको अंग्रेजी प्रकाशनले एक प्रकारको तरंग उत्पन्न गरेको छ नी ?

--- तरङ्ग उत्पन्न गर्ने केही काम म आफै गरिरहेको छु, धेरै साथीहरूले सहयोग गर्नु भएको छ ।  केही प्रकाशकले । प्रकाशकको तर्फबाट हुनुपर्ने प्रबद्र्धनको काम हुन अझै बाँकी छ । तयारी हुँदैछ । अन्तर्राराष्ट्रिय पुस्तक प्रदर्शनीमा सहभागी, ५०० वटा प्रेस रिलिज, रिभ्यू, र वेवसाइडको काम हुँदैछ । विषय वस्तुको गाम्भीरतालाई ध्यानमा राखेर त्यही स्तरको प्रकाशन र प्रबद्र्धन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यही अनुरूप काम अगाडि बढिरहेको छ । यो वर्षमा यी काम सम्पन्न हुन्छन् । अनि मात्र पुस्तक कस्तो भयो, यसको महत्व कस्तो छ ? विश्व दर्शन, साहित्यमा यसको स्थान कहाँ छ ? मूल्याङ्कन हुन्छ । अहिले त यसको मूल्याङ्कन गर्ने बेला भएको छैन ।

>> नेपाली साहित्य, दर्शनमा यस्तो देखिएको छैन तपाईको कसरी संभव भयो ?

---- कोशिश गर्दै गएपछि बाटो बन्दै जान्छ । मैले पनि कोशिश गरिरहेँ । अनलाइन प्रकाशक खोज्न थालें । मेघालय भारतकी प्रा.डा. स्टीमलेट डखारले पनि भारतको प्रकाशक खोज्न सहयोग गरिन् । तर भारतको प्रकाशकले प्रकाशन गर्न अस्वीकार ग¥यो । नेपाली प्रकाशकहरूले अस्वीकार गरिरहेका छन् । हल्काफुल्काको बजार भएको ठाउँमा यस्तो गम्भीर विषयले प्रवेश पाउने कुरा पनि भएन । अहिलेको समय साइबरको हो । अनलाइनमा ठगहरूको पनि त्यतिकै बिगबिगी छ । त्यहाँ धेरै प्रकाशक भेटिन्छन् । तर इमान्दार पाउन गाह्रो छ । त्यही पनि खोजी जारी राखें । लामो समयको खोजपछि अहिलेको प्रकाशक भेटें । त्यति सजिलै विस्वास गर्ने कुरा भएन । बेलायतको प्रकाशकबाट पनि प्रस्ताव आयो । मलाई बेलायतको प्रस्ताव उचित लागेन । अहिले प्रकाशन गर्ने अमेरिकन प्रकाशकबाट काम गर्न थालें । मनमा त्रास थियो नै । छापिन्छ कि छापिन्दैन । ठगाइमा परिन्छ कि ? पुस्तक नै हातमा नपरिन्जेल मैले यसलाई बाहिर पनि ल्याइनँ । किनभने प्रतिष्ठा डुबाउने धेरै माफिया हुन्छन् । ती सबैबाट जोगिनै प¥यो । अन्तोगत्वा यहाँसम्म पुगें । अहिले म के बुझ्दैछु भने कुनै पनि कामको एउटा सिस्टम हुन्छ । यिनीहरूसँग सिस्टम छ । चारैतिर हाँगाबिँगा फैलाएर बसेका छन् । यिनीहरूको बाटोबाट हिँडियो भने विश्व बजारमा पुग्न छिटो र सजिलो हुँदोरहेछ । आफै गर्न खोजियो भने यो ब्राह्मण्डमा हराइन्छ ।  
 

>> देश सुब्बाज्यू तपाईको कविता कर्मका बारेमा केही भन्नुहोस न ?

---- कुनै विषय वस्तुले प्रभाव पा¥यो भने कहिलेकहीँ कविता लेख्छु । एक समय हङकङको नेपाली साहित्य निस्क्रिय भएको थियो । त्यो बेला यहाँको साथीहरूलाई सक्रिय बनाउन रेखा कविता लेख्न थालें । रेखा कविताले पनि केही उत्साह ल्यायो । बिस्तारै जीवन र जगत्लाई हेर्न दृष्टिकोण बनायो । टंक सम्बाहाम्फे लगायतका केही साथीहरू रेखा कविता लेखिरहेका छन् । म पनि लेख्छु । बीचमा दश वर्ष लगाएर चार सय पानाको अनौठो पाराको महाकाव्य लेखें । छापिएको छैन । कुनै दिन आउला त्यसको पालो । समय समयमा समकालिक कविता लेखिरहेको छु । कविता लेख्न पनि मलाई रमाइलो लाग्छ ।
 

>> हङकङको नेपाली साहित्य क्षेत्रमा देश सुब्बाको योगदानलाई कसरी मूल्याङ्कन गर्ने ?

--- गोर्खाली सेनाहरू हङकङमा रहँदा पर्वते पत्रिका र बि.एफ.बि.एस. रेडियोमा साहित्य लेख्थे । उनीहरूको मुहानमा अरू साहित्यकार थपिंदा म पनि थपिएँ । हङकङको नेपाली भाषा र साहित्यको विकासमा यहाँका नेपाली शिक्षक, पत्रकार, विद्यार्थी र साहित्यकारले गरेको जस्तै मैले पनि इटा थप्ने काम गरेकोछु । हङकङबाटै भयवाद दर्शन, रेखा कविता र समुच्च लेखनको शुरूवात भएको छ । १५ वर्ष अगाडि केही साथीहरू मिलेर नेपाली साहित्य प्रतिष्ठान हङकङको स्थापना गरेका थियौं । यो संस्था अझै छ । यसैमा रहेर काम गरिरहेका छौं । हङकङको नेपाली साहित्य नेपालको स्नातक तहमा अध्यापन हुन्छ । दीपक सुबेदीले नेपाली साहित्यमा हङकङको योगदान विषयमा स्नातोत्तर तेस्रो वर्षमा शोधपत्र बुझाए । ती सबैमा मेरो केही योगदान छ । यसको मूल्याङ्कन समयले गर्ला ।
 

>>हङकङको नेपाली समाज स्थापनाका लागि हामी के गर्न सक्छौं ?

--- समाज स्थापना भन्ने महत्वपूर्ण कुरा हो । नेपाली समाज भनेर जब हामी भन्छौं, त्यो समाजको आधार चाहिन्छ । जुन समाजको भाषालिपि, धर्मसंस्कार मजबूत हुन्छ, त्यो समाजको अस्तित्व बलियो हुन्छ । समाजको अस्तित्व र पहिचानको कुरा आउँछ । आर्थिक, सामाजिक र राजनैतिक मजबूतीको कुरा पनि आउँछ । हामी अहिले अल्पसंख्यक संक्रमक कालबाट गुज्रिरहेका छौं । समाज स्थापना, मजबुती भन्दा पनि डार्बिनले भनेजस्तै बाँच्नको लागि संघर्ष चलिरहेको छ । यस्तै कुरालाई अब्राहम मास्लोले आवश्यकताको सिद्धान्त भनेर व्याख्या गरे । यी सबै भयमा गएर अडिन्छ । खाने, बस्ने र सुरक्षाको स्थिरता नआइ अरू काम गर्न सकिन्न । अहिलेसम्म पनि हाम्रो मानसिकताले त्यसैको खोज गरिरहेको छ । यसमा स्थिरता आएको दिन समाज एक किसिमले स्थापित भएको मान्न सकिन्छ ।
 

>> नेपाली भाषाका लागि के गर्न सकिन्छ ?

--- कुनै पनि भाषालाई मजबुत गर्न सक्दो बढी प्रयोगमा आउनुपर्छ । जति सरकारी भाषासँग यसको नजिकको सम्बन्ध गाँसिन्छ, उति नै आयु लामो हुन्छ । विश्वको जुनसुकै मुलुकमा जुन भाषाले संविधान, सरकारी कामकाज, शिक्षा, नीति पत्रपत्रिकामा पुस्तक प्रकाशनमा स्थान पायो त्यो भाषा मजबुत हुँदै जान्छ । हङकङको सवालमा ३ वटा भाषाले मात्र मुख्य मान्यता पाएको छ । तर अल्प संख्यक जातिलाई सजिलो होस भनेर अल्प संख्यक जातिको भाषामा पनि पुस्तिकाहरू प्रकाशन हुने गर्दछ । नर्सरी, प्राथमिक विद्यालयमा नेपाली भाषाले पनि आँशिक मान्यता पाएको छ । यो नेपाली भाषाको लागि राम्रो मौका हो । अझै हराभरा बनाउन हामीले बढी गोडमेल गर्नुपर्दछ । सरकारले त बाटो देखाउने हो, हिड्ने, प्रयोग गर्ने त हामी हौं । त्यसैले यसको भविष्यलाई ध्यानमा राखेर दुरगामी कदम चल्नुपर्छ । यसमा यहाँका नेपाली शिक्षक, पत्रकार, साहित्यकार, विद्यार्थी, अभिभावक सबैको उत्तिकै योगदान छ ।

Trouble listening? Try from alternative players
Advertisement