सत्यमोहन जोशी ः शताब्दी पुरुष »

-- नरेन्द्रराज प्रसाई --
‘शताब्दी’ भन्नाले सय वर्षको समयलाई जनाउँछ । त्यही सय वर्षको समयमा विश्व परिवेशमा एक जना नेपाली उभिएका छन् र ती हुन्— डा.सत्यमोहन जोशी । एउटा लामो, लामो र अझ लामो इतिहास बोकेका साहित्यकार डा.सत्यमोहन जोशीको जीवनभरिको निरन्तर साहित्य साधनाबाट उब्जिएको यो पद संसारभरिका जेष्ठ नागरिकका लागि एउटा प्रेरक स्तम्भ रहने बेहोराको बौद्धिक मत  प्रकट हुने गरेको पाइन्छ ।

विश्व साहित्यको इतिहासमा ‘शताब्दी पुरुष’ भन्ने शीर्षक सुरुमा नौलो नाउँ नै हुन सक्छ । तर खास गरेर त्यो उपाधि नेपाली संसारमा चाहिँ प्रिय हुन गयो । त्यसमाथि पनि त्यो सम्मान सर्वप्रिय स्रष्टा जोशीमा समर्पित भएको बेहोराले संसारभरिका साहित्यकारले थपडी बजाएको पनि सुनियो ।

डा.सत्यमोहन जोशीको सक्रिय वाङ्मयिक गतिविधि एवम् साहित्य सृजनाका साथै सङ्गठनात्मक योगदान र उत्कृष्ट जीवनशैलीका कारण उनी एक सय वर्षको नेपाली साहित्यको इतिहासमा प्रतिनिधि स्रष्टाको मुकुटमा प्रतिष्ठापित भए । यो उनको मात्र दिग्विजय नभएर नेपाली साहित्य क्षेत्रको नै विशिष्ट सम्मान बन्न पुग्यो ।

‘शताब्दी पुरुष’ सुरुमा एक जना व्यक्ति अर्थात् नरेन्द्रराज प्रसाईको एकल विचारको अवधारणा थियो । अन्ततः त्यो सोच विश्वमा नै सर्वमान्य रूपमा प्रचलित भयो । कतिसम्म भने देशदेशान्तरमा सत्यमोहन जोशी भनेका ‘शताब्दी पुरुष’ र ‘शताब्दी पुरुष’ भनेका ‘सत्यमोहन जोशी’ भएर दुवै शब्द एकअर्काका पर्यायवाची हुन पुगे ।

‘शताब्दी पुरुष’को इतिहास केलाउने हो भने २०६१ साल असार १२ गते सत्यमोहन जोशीकै निवास ललितपुरको बखुंबहालस्थित जोशीकै घरमा गएर नरेन्द्रराज प्रसाईले बोलेको थिए— ‘आज हामी हुनेवाला ‘शताब्दी पुरुष’का घरमा उपस्थित छौं ।’ पृथ्वीमा त्यो वाणी फुस्केको दस वर्षपछि अर्थात् २०७१ साल मङ्सिर १५ गते त्रिमूर्ति निकेतनबाट जोशीलाई ‘शताब्दी पुरुष’को सम्मान, उपाधि र पुरस्कारका साथै पाँच लाख रुपियाँ राशिसहित सप्तनाग जडित कलात्मक काठको फ्रेममा पाँच फुट उचाइको ताम्रपत्र समर्पण गरिएको थियो । त्यसै दिन १४ अञ्चलका विभिन्न साहित्यिक संस्था र त्रिमूर्ति निकेतनबाट २५ राष्ट्र«मा गठित सत्यमोहन जोशी शताब्दी महोत्सव र अन्य राष्ट्रमा रहेका केही नेपाली साहित्यिक संस्थाबाटसमेत जोशीसमक्ष १०१ वटा अभिनन्दनपत्रहरू प्राप्त भएका थिए ।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते निकेतनको साधारणसभा बसेको थियो । त्यसै दिन नेपाली साहित्यका महारथी डा.सत्यमोहन जोशीको ९५आð शुभजन्मोत्सवका अवसरमा डा.जोशीलाई ‘शताब्दी पुरुष’ घोषणा गर्दै ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’ मनाउने निर्णय गरेको थियो । त्यस महोत्सवका लागि निकेतनका सदस्य तथा नेपाली साहित्यका नारीचुलीमध्येकी एक विदूषी प्रा.डा.उषा ठाकुरको संयोजकत्वमा त्रिमूर्ति निकेतनका पदाधिकारीहरू सदस्य र सदस्यसचिव नरेन्द्रराज प्रसाई पदेन सदस्यसचिव रहने व्यवस्था गरिएको थियो । साथै त्यसै दिनदेखि सत्यमोहन जोशीको जीवनकालभरि निकेतनले प्रत्येक वर्ष वैशाख ३० गते शताब्दी महोत्सवका रूपमा मनाउने त्रिमूर्ति निकेतनका सदस्य नरहरि आचार्यको प्रस्तावउपर ऐतिहासिक निर्णय गरेको थियो ।

२०७१ मङ्सिर १५ गते नेपाल सरकारका उपप्रधानमन्त्री वामदेव गौतम, मन्त्री नरहरि आचार्य र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबाट संयुक्त रूपमा हस्ताक्षरित ताम्रपत्रसहित डा.सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’को पुरस्कार, उपाधि र सम्मान समर्पण गरिएको थियो । त्यस गरिमामय समारोहमा त्रिमूर्ति निकेतनअन्तर्गत त्रिनारी रत्न स्मारकका संयोजक तथा नेपाली भाषासाहित्यका महारथी डा.मोदनाथ प्रश्रितले डा.जोशीको व्यक्तित्व र कृतित्वको महिमा वर्णन गरेका थिए । सोही भव्य समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई समर्पित काठको कलात्मक सप्तनाग जडित पाँच फुट उचाइको ताम्रपत्रमा लेखिएको बेहोरा वाचन त्रिमूर्ति निकेतनका कोषाध्यक्ष तथा मुक्तक सम्राज्ञी उषा शेरचनले गरेकी थिइन् ।    
उन्नाइसौं शताब्दीबाट आरम्भ भएको नेपाली भाषासाहित्यको लेखनयात्राले दुई शताब्दीको सेरोफेरो ढाकेको सन्दर्भमा वाङ्मयिक संस्कृतिको सुकीर्ति फैलाउने, नेपाली संस्कृतिका धरोहर र यस शताब्दीका शीर्षस्थ स्रष्टा डा.सत्यमोहन जोशीकोे सफल यात्राको हार्दिक कदर गर्दै ‘शताब्दी पुरुष’को उपाधि समर्पण गरिएको थियो ।

नेपाली कला, साहित्य, संस्कृति, भाषा आदि क्षेत्रको अध्ययन, अनुसन्धान र सृजनात्मक लेखन तथा अनेकौं उच्च प्रतिष्ठित संस्थाहरूको संस्थापन र सञ्चालनका साथै प्रथम ‘अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन’जस्तो ऐतिहासिक, गरिमाशाली र चिरस्मरणीय कार्यको संयोजक भएर विश्व परिवेशमा नेपाली भाषासाहित्यको गरिमा र महिमा पु¥याउने एक्काइसाð शताब्दीका अविश्रान्त साधक डा.सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’को उपाधि सगौरव समर्पण गरिएको थियो ।
कविता, नाटक, समालोचना, लोकसाहित्य, संस्कृति आदि विधामा दर्जनाð कृतिहरू सृजना गरेर नेपाली भाषा र नेपालभाषाको श्रीवृद्धिका लागि अनवरत तपस्या गर्दै यस शताब्दीमा नेपाली साहित्य, कला र संस्कृतिलाई विश्वमा चिनाउन अहोरात्र समर्पित डा.सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’को सम्मानका साथ पाँच लाख रुपियाँ राशिको पुरस्कारसमेत समर्पण गरिएको थियो ।
००
डा.सत्यमोहन जोशीको जीवनकालमा नै ‘शताब्दी महोत्सव’ मनाइएको बेहोराले जोशी उत्साहको चरम शिखरमा पुगिसकेका थिए । त्यतिखेर जोशीले आपूm ‘शताब्दी पुरुष’मा यसरी सम्मानित भएकोमा ‘मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार सम्झेको छु । वास्तवमा मलाई अब कुनै पनि मान, सम्मान र उपाधिको आवश्यकता छैन’ भनेर खुसी व्यक्त गरेका थिए ।

शताब्दी पुरुष सत्यमोहन जोशीको ‘शताब्दी महोत्सव समारोह समिति’को एउटा अति आकर्षक, भव्य र ऐतिहासिक समारोहमा उपप्रधानमन्त्री वामदेव गौतमले— ‘सत्यमोहन जोशीजस्ता व्यक्तित्वलाई माल्यार्पणका साथै यति विशाल अक्षरले सुसज्जित ताम्रपत्र समर्पण गर्नु मेरो जीवनकै एउटा अर्को उपलब्धि हो’ भनेका थिए । साथै मन्त्री तथा स्रष्टा नरहरि आचार्यले— ‘सत्यमोहन जोशीजस्ता व्यक्तित्वको सम्मान गर्न पाउनु हाम्रो भाषा, साहित्य र संस्कृतिकै सम्मान र मर्यादा गर्नुसरह हो’ भनेका थिए ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको शिष्टता, नम्रता र विद्वत्ताको चारैतिर वर्णन भइरह्यो । उनको त्यही उपाधिलाई समाएर उनको मुहार अङ्कित चाँदीको सिक्का न्हूजः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठको सक्रियतामा गुठीले प्रकाशनमा ल्याएको थियो । २० ग्राम चाँदीको सिक्का नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले २०७१ फागुन २१ गते लोकार्पण गरेका थिए ।

त्रिमूर्ति निकेतनले सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’को पदवी समर्पण गरेपछि प्रायः सबैले डा.जोशीका नाउँ अगाडि ‘शताब्दी पुरुष’ जोड्न थाले । जोशी बिरामी भएर वयोधा अस्पतालमा रहँदा नेपाल सरकारको मन्त्रीमण्डलको बैठकले स्वास्थ्योपचारका लागि सम्पूर्ण रकम निकासा गर्ने निर्णय गरेको थियो । त्यस बेला मन्त्री परिषद्मा समेत जोशीलाई ‘शताब्दी पुरुष’को नाउँबाट सम्बोधन गरिएको बेहोरा अभिलिखित छ ।

स्रोत ः शताब्दी पुरुष ः सत्यमोहन जोशी (२०७२)

Trouble listening? Try from alternative players
Advertisement